नेकपा दाहाल–नेपाल पक्षका स्थायी कमिटी सदस्य रघुजी पन्तले संसद् विघटनको कदम सर्वोच्च अदालतबाट सच्चिनुपर्ने बताएका छन् ।
रघुजी पन्त, नेकपा, स्थायी कमिटी सदस्य
नेपाल दलित मुक्ति संगठनले प्रतिनिधिसभा विघटनको विरोधमा सोमबार काठमाडौंमा आयोजना गरेको विरोध र्यालीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता पन्तले असंवैधानिक रुपमा भएको संसद् विघटन सर्वोच्च अदालतको फैसलाद्वारा सच्चिन सम्भव भएको बताए । सर्वोच्च अदालतले कसैको जुलुस हेरेर नभई नेपालको संविधान हेरेर फैसला गरी संसद् पुन:स्थापना गर्नेमा विश्वास रहेको बताए । जनतालाई जागरुक बनाउन र संसद् पुन:स्थापनाको पक्षमा जनमत बनाउन निरन्तर विरोध प्रदर्शन भइरहेको र सर्वोच्चको फैसला नआउञ्जेलसम्मलाई विरोधको कार्यक्रम जारी रहने पनि पन्तले बताए ।
माइतीघर मण्डलादेखि बानेश्वरसम्म भएको र्यालिमा प्रदर्शनकारीले संसद् पुन:स्थापनाको माग गर्दै नाराबाजी समेत गरेका थिए । नेपाल दलित मुक्ति संगठन केन्द्रीय संघर्ष समितिका संयोजक दलजित श्रीपाइलीले संसद् विघटन गरी प्रधानमन्त्री ओलीले देशमा अस्थिरता पैदा गरेको बताए । संविधान, गणतन्त्र, संघीयता, धर्म निरपेक्षतामाथि ‘कू’ भएको भन्दै संयोजक श्रीपाइलीले संविधानमा भएका दलितका अधिकार समेत खोसिएको अनुभूति भएकाले संसद् पुन:स्थापनाको पक्षमा आन्दोलन गर्नुपरेको बताए ।
Discussion about this post