२०७८ चैत्र १६, बुधबार २२:४०

गृहमन्त्री बालकृष्ण खाँणले नेपालमा रहेका नदीको पानी उपयोग गर्दै विद्युत् उत्पादनलाई पहिलो प्राथमिकता दिनुपर्ने बताएका छन् ।

 

गैरआवासीय नेपाली संघको १० औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूसँग गृह मन्त्रालयमा बुधबार भएको भेटमा गृहमन्त्री खाँणले स्वदेशमै उत्पादित विद्युत सबै नेपालीहरूको घरघरमा पुर्‍याएर खपत बढाएमा मात्रै पेट्रोलियम पदार्थको आयात घटाउन सकिने बताए

उनले आयात र निर्यातमा सन्तुलन नभएको र व्यापार घाटा बढ्दो रूपमा रहेको बताए । ‘अहिले आयात र निर्यातमा सन्तुलन छैन । व्यापार घाटा बढ्दो छ,’ गृहमन्त्री खाँणले भने, ‘आयात र निर्यातमा सन्तुलन कायम राख्न र व्यापार घाटा कम गर्न केही समय लाग्छ । पेट्रोलियम पदार्थको मूल्य बढिरहेको छ । यसको आयात पनि बढ्दो छ । जसले मुलुकको अर्थतन्त्रलाई गम्भीर असर पारेको छ । विद्युत उत्पादन गरेर खपत गर्न सक्ने अवस्था बन्यो भने मात्रै यसलाई कम गर्न सकिन्छ । त्यसमा ध्यान दिन आवश्यक छ ।’

गृहमन्त्री खाँणले नेपालको संविधान २०७२ राजनीतिक दलबीच सहमतिबाट संशोधन र परिमार्जन गर्न सकिने भन्दै, संविधान संशोधन गरेर गैरआवासीय नेपालीलाई नागरिकता लगायत सहुलियत दिन सरकार सकारात्मक रहेको बताए ।

यस्तै संविधानमा व्यवस्था भए अनुरुप कानुन बनाएर गैरआवासीय नेपालीलाई नागरिकता दिन सरकारले पहल गर्ने पनि गृहमन्त्री खाँणको भनाइ थियो । गैरआवासीय नेपालीहरूलाई नेपाल आउन र नेपालबाट बाहिर जान सहज बनाउनका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘एनआरएनए डेस्क’ स्थापनाको तयारी सरकारले गरिरहेको उनले बताए ।

भेटमा गृहमन्त्री खाँणलाई एनआरएनएका तर्फबाट ५ बुँदे मागपत्र बुझाइएको थियो । गैरआवासीय नागरिकलाई गैरआवासीय नागरिकता दिनुपर्ने, वैदेशिक रोजगारीमा जाने र फर्किनेलाई अन्तर्राष्ट्रिय विमानस्थलमा सहज वातावरण निर्माण गरिनु पर्ने, जन्मस्थान नेपाल लेखेका राहदानी वाहकलाई नेपाल प्रवेशाज्ञामा सहज बनाइदिनुपर्ने लगायत माग उनीहरूको थियो ।

तपाईको प्रतिक्रिया !

ताजा समाचार

ताजा समाचार

ट्रेडिङ समाचार