२०७८ कार्तिक १०, बुधबार ०८:२७

कान्ति न्याैपाने

केही वर्षअघि म एउटा कुनै नाम चलेको मिडियामा काम गर्थेँ। काम गर्न पनि सहज, मिलनसार साथीहरू रमाइलो थियो वातावरण । उक्त अफिसमा आउनुअघि डर पनि लागेको थियो कतै मिल्ने साथीहरू नहुने पो हुन् कि ! काम गर्न असहज हुने हो कि ! तर, त्यस्तो भएन त्यहाँ पुग्दा काम गर्न सजिलो भयो । रमाइलो लागेको थियो काम गर्न, फेरि पहिल्यै अनुभव भइरहेको काम सजिलो थियो । विशेषगरी म बाहिर फिल्डतिर हुन्थे, कहिलेकाही त ८ घण्टाको ड्युटीमा म ६ घण्टा बाहिरै हुन्थे । यसरी नै नयाँ अफिसको काम चलिरहेको थियो । जे होस् मलाई रमाइलो भने लागिरहेको थियो । साथीहरू पनि मिल्ने भेटिएका थिए , फेरि सबै आफ्नो काममै बढी ब्यस्त हुँदा एकले अर्काको वास्ता, चियोचर्चो गर्ने समय पनि त थिएन ।

यसरी नै दैनिकी बितिरहेको थियो । एकदिन फिल्डबाट अफिस फर्किदा एकजना नयाँ केटी मान्छे आएकी रहेछन्, साथीहरूबाट थाहा पाएँ उनी नयाँ स्टाफ हुन् रे । भोलिबाट काममा आउने रे । अहिले मान्छे नै चाहिएको थिएन त किन ल्याए हाकिमले मसँगै रहेका एकजना साथीले भने, अर्कोले थपे हाकिमको विशेष मान्छे होलान् नि त ? एकछिन हाँसो फैलियो । ल जेसुकै होस् मेरो त थुप्रै काम बाँकी छ है भन्दै म उठेर कार्यकक्षतिर लागेँ ।

काम सके, घर फर्किए । अनि भोलिपल्ट बिहान १० बजे अफिस पुग्दा ती नयाँ स्टाफ आइसकेकी रहिछिन् । मैले नचिनेको हुँदा बोलिनँ । उनीपनि आफ्नै धुनमा मोबाइल चलाएर बसिरहेकी थिइन् । एकछिन पछि हाकिम आएर हामी सबैलाई मिटिङ रूममा बोलाएर उनको परिचय गराए । उनी यस्तो, उस्तो अनुभवी सबै बताए, निकै लामो प्रशंसा गरे । मलाई नि ठीकै होलिन् भन्ने लाग्यो । त्यसपछि, एउटै अफिस भएपछि विस्तारै बोलीचाली त हुने नै भयो । काम राम्रोसँग चलिरहेको थियो, उनी आएको करिब १ महिनापछि रिपोटिङ जाने क्रममा एकजना स्टाफले उनको र सम्पादकको विशेष सम्बन्ध रहेको बताए । मलाई पत्यार लागेन, एउटी महिला अलिकति राम्रो पद र जिम्मेवारीमा हुने बित्तिकै केटा मान्छेहरू चारित्रिक सम्बन्धमा लगेर कुरा जोड्छन् । धत् हाम्रो समाज भन्ने लाग्यो उनका कुरा पत्याइनँ । यसरी नै दिनहरू बितिरहेका थिए । नियमित अफिस आउजाउ, लेखन सबै चलिरहेको थियो ।

एकदिन म अफिस आएर भर्खरै बसेको मात्रै थियो, सम्पादकको फोन आयो, उनले भने आज फलानो बैठक ११ बजे नै बस्दै छरे गइहाल है तिमी । मैले हस् सर भनेर फोन राखे । उनले ढोकाबाट हेर्दै सोधिन्, कसले, किन फोन गरेको रे ? मैले भने सम्पादक सरले गर्नुभएको रैछ, फलानो ठाउँमा रिपोटिङ जानुपर्यो रे ।

अनि उनले सोधिन्, मोबाइलबाट कि ल्याण्डलाइनबाट मैले भने मोबाइलबाट । अनि उनले अलिक आक्रोशित भावमा सोधिन् अफिसकै नम्बरमा कल गर्न सकिन्न किन मोबाइलमा गर्नुपर्ने रैछ नि ? म त एकछिन अचम्मित भए अनि भने जहाँ गरेपनि सूचना आउनु त हो नि के भयो र ।

उनी अलिकति निराश अनुहार बनाएर फर्किइन्, म भने अचम्मित भइरहे । त्यसरी नै दिन बित्दै थियो, एकदिन म समाचार बनाइरहेको ठाउँमा आएर तिमीलाई सरले कति केयर गर्नुभएको है, आफैँ फोन गरेर काम अह्राउनुहुन्छ, लौ के कुरा गर्नुभएको थोरै रिस मिश्रित भावमा भने, त्यो जिम्मेवारीमा तपाई भएपनि त्यहीँ गर्नुहुन्छ नि के नौलो भयो र, मलाई चकलेट दिन फोन गरेको होर ?

काम लगाउन फोन गरेको हो । जसले पनि जसलाई गर्न सकिन्छ नि उठेर हिँडे म त्यहाँबाट । अनि खाजा खाने समयमा मसँगैकी साथीलाई त्यो अस्ति आएकी नयाँ केटीले के के भनेकी हो मलाई त कुरा सुन्दा त अनौठो लाग्छ, उनले भनेका सबै कुरा सुनाए अनि साथी पनि सहमति जनाउँदै भनि मलाई पनि त्यस्तै खालको कुरा गरेको थिई अस्ति । त मेरो चर्काचर्की नै परो ।

अलिक फरक स्वभावकी केटी रहिछन् क्यारे भनेर फेरि आफ्नै काममा लागे । पुन अर्कोदिन पनि अफिसको गाडीमा बाहिर जाँदै गर्दा साथीहरूले खासखुस गरे, त्यो केटी र सम्पादकलाई कोठामा अंकमाल गर्दै गरेको देखेको भन्न थाले म पनि नसुनेको जस्तै गरेर बसे । अनि मलाई त्यस्तो भन्नु र गाडीमा कुरा गर्नुले कतै उनीहरूबीचको सम्बन्ध विशेष नै रहेछ कि भन्ने पनि लाग्यो ।

तरपनि, मानिसको भ्रम नै होला भन्ने लागिरह्यो । नियमित जस्तो काममा लागिरहे । एकदिन सम्पादक केही काममा लागि बाहिर गए, उनले फेसबुकम बाहिर जाँदै छु भन्ने पोष्ट हालेका थिए मैले पनि ह्याभ अ सेफ टाभल भनेर कमेन्ट गरेँ, त्यस्तै मसँगै भएका अन्य केटीहरूले पनि गरे, तर त्यो कमेन्ट गर्नेहरू सबै ब्लकमा परेका रहेछन् ।

एकदिन चिया खाने बेलामा प्रशंग उठेर हेर्दा त अफिसका प्राय सबै केटीहरू ब्लकमा रहेछन्, अनि हामीले उनलाई नराम्रो के गर्‍यो र ब्लक गर्नुभयो सर भन्दा उनी एकछिन अचम्मित भए, मैले त केही गरेको छैन, कसरी त्यस्तो भयो म हेर्छु है, के भएको रहेछ भनेर अध्यारो मुख बनाएर कोठाभित्र छिरे । तर, पछि वास्तविकता थाहा भयो कि ती केटीले सम्पादकको फेसबुक चलाउने रैछिन् र कोहीसँग अफिसियली कुरा गर्दापनि वा कमेन्ट गर्दैमा मायापिरती नै गर्न लागे भनेर अफिसका सबै केटीलाई हटाउने गर्दिरहिछन् ।

हामी त चकित नै भयौ कस्तो नेचरको केटी रैछन् भनेर । एकदिन अफिस सकेर घर पुगिसकेपछि मलाई रुँदै फोन गरिन् मिस मलाई सबैले के के भन्छन् अफिसमा, किन यस्तो गरेका के के भनेर अर्के पाराले कुरा गरिन्, अनि मैले प्रष्ट कुरा भन्नुन भने, फेरि म पछि भनुँला भनेर राखिन्, पछि थाहा भयो उनलाई अफिसका सबै केटीहरू सम्पादक अर्थात् उनको ब्वाईफ्रेन्डको पछि लागे भन्ने चिन्ता भएको रहेछ ।

मलाई त्यो सबै थाहा पाएपछि अजीब लाग्यो, अनि एकदिन मैले बोलाएर तपाईहरूबीचको के सम्बन्ध हो ? के हो मलाई मतलब भएन तर, कृपया मलाई नजोड्नुस्, यो अफिसमा भएजति सबैसँग मेरो अफिसियल सम्बन्ध मात्रै हो, अफिस छोडेपछि हाईहेलोको मात्रै सम्बन्ध रहन्छ ।  त्यहीँ भएर मलाई अफिस छोड्दाको समयसम्म कसैलाई स्पेशल र कसैलाई ननस्पेशल बनाउनु छैन, सबै सहकर्मी हो । म त्यहीँ भन्दै उठेर कामतिर लागे, उनीपनि आफ्नै कामतिर ब्यस्त भइन् ।

उनको सानो सानो कुरामा अफिसमा भएका जति केटी संवाददातालाई शंका गर्ने क्रम भने रोकिएको थिएन । एकदिन मसँगकै साथीसँग अलिक धेरै नै झगडा परेर हाकिमकोमा स्पष्टीकरण नै दिनुपरेको थियो । यसरी नै दिनचर्या चलिरहेको थियो । मलाई काम गरिरहेका भन्दा राम्रो ठाउँबाट जागिरको अफर आयो । पैसा र सुविधा बढी हुनेभएपछि मैले उक्त सञ्चारसंस्था छोडे । त्यसपछि त कसैसँग मतलब हुने कुरा भएन । अफिस छोडेपछि केही फिल्डमा आउने साथीहरूलाई भने भेटिन्थ्यो । नभए न सम्पादक, न उनकी गलफ्रेन्ड न कुनै अन्य साथीहरू कसैको पनि मतलब नै भएन, सबै आफ्नै काममा ब्यस्त थिए ।

म पनि अफिस छोडेर अन्त काम गर्न थालेको २ महिना बितिसकेको थियो । पूराना अफिसका सबै गतिविधि लगभग याद नै नआउने भइसकेका थिए । त्यहीक्रममा एकदिन तिनै सम्पादककी गलफ्रेन्डको फोन आयो । मिस कता हुनुहुन्छ तपाईलाई म भेट्न चाहान्छु भनिन्, एकदमै अर्जेन्ट छ भनिन् । मैले केही समय बाहिर छु भनेर टार्ने कोशिस गरे । तर उनले जसरी पनि यो हप्ताभित्र मिलाउनु् मेरो जिन्दगीको सवाल छ, के के भन्न थालिन्  । मैले हुन्छ भनेर शुक्रबार भेट्ने बाचा गरे ।

मेरो पटकपटक फोन आएको देखेपछि नयाँ अफिसमा बस्ने एकजना स्टाफले पनि चासो राख्नुभयो र सोध्नुभयो, के भयो र मिस? अनि उनलाई भने यस्तो यस्तो समस्या हो मलाई त लास्टै रिस उठिसक्यो, म त केही नलागे पुलिस केस नै गर्छु, अरुलाई नभएको आरोप पनि लगाउन पाइन्छ ? मेरो कुरा सुनेपछि उनले पनि आफ्नो अनुभव सुनाइन्, तपाईलाई मात्रै होइन मलाई पनि यस्तै परेको छ । उ

नले सुरु गरिन्, करिब २ वर्षअघि म एउटा रेडियोमा काम गर्थे, त्यहाँ काम राम्रो चलेको थियो । हामीसँगैका सहकर्मीले २ महिनाजति मात्रै अगाडि बिहे गरेका थिए । उनको बिहेमा हामी सबै गएका पनि थियौँ । तर, बिहेको २ महिनामै उनकी श्रीमतीले केटीसँग कुरा गरेको के के भन्दै किचकिच गर्न थालिछिन्, अनि हामी सबै केटीलाई फेसबुकबाट हटाइन् । अनि त एकदिन अफिसमा आएर हामी सबैलाई मेरो बुढासँग लागिस् के कसो भनेर पो गाली गर्न थालिन्, त्यसपछि त हामीले बेस्सरी झपारेर पठाइदियौँ ।

अनि उनले अफिसमा भएजति सबै केटीलाई अनफ्रेन्ड गरेकी रहिछिन्, त्यत्तिमात्रै होइन, सबैलाई म्यासेज पठाएर थर्काउने समेत गरेकी रहिछन्, त्यसपछि उनको बुढालाई पनि कहाँ के कसो भनेर अफिसमा काम गर्दापनि बारम्बार फोन गरिरहेकी हुन्थिन्, त्यहीँ विविध कारणले उनले त्यो अफिसु छाडेका थिए ।

भन्नु त कस्ता अचम्मका मानिस पनि हुन्छन् संसारमा, उनको कुरा सुनेर म पनि चकित भए । उनको त्यो घटना सम्झिदै म बानेश्वरको कुनै क्याफेमा गए, जहाँ उनी बसिरहेकी थिइन् मलाई मनैबाट भेट्न भने मन थिएन । तरपनि, धेरै अनुरोध गरेको भएर गएको थिए । अनि उनले सुरुमा हालखबर सोधिन्, मैले सामान्य तरिकाले बताए, उनको हालखबर सोधिन, मलाई उनको शंकालु प्रवृत्ति देख्दा रिस उठिरहेको थियो ।

अनि विस्तारै कुरा अगाडि बढाउन थालिन्, हेर्नुस् मिस अब किन ढाँट्नु सम्पादक सर र म रिलेसनमा भएको धेरै वर्ष भयो । अब, छिट्टै हामी बिहे पनि गर्दैछौ, हुनत तपाईले अफिस छोडेर गईसक्नुभयो, तरपनि तपाईहरूबीच अफिस छोडेपछि भेटघाट भयो कि नाई, तपाईलाई उहाँले म्यासेजहरू फोन गर्नुहुन्छ कि नाई त ? म उनको कुराले एकछिन चकित भए, मुड अफ पनि भयो, तर राम्रोसँग भने उहाँसँग मात्रै होइन मैले अफिस छोडेदेखि कोहीसँग पनि कुराकानी भएको छैन।

एउटै अफिसमा हुँदापनि सरसँग म कहिले नि चिया खाइनँ, मात्र कामको सम्बन्ध हो मैले पहिलेपनि भनिसके कृपया अनावश्यक शंका गर्न छोडिदिनु, म अफिससमेत छोडिसकेको मान्छेलाई बेकारको तनाव नदिनुस् मेरो तपाईको बिएफसँग कुनै लेनदेन छैन । अलिअलि बुझेको जस्तो गरिन् अनि म मलाई अबदेखि यस्तो शंका नगर्नुहोला तपाईको मान्छेसँग न म अफिस ज्वाईन गर्नुअघि मतलब थियो न अफिस छोडेपछि नै । सामान्य हाईहेलोको मात्रै सम्बन्ध हो हाम्रो ।

यति भनेर म आफ्नो बाटो लागे उनीपनि लागिन् । त्यसपछि केही दिन उनको कल, म्यासेज आएन । लाग्यो, अब कुरा बुझिन त्यही भएर होला, तर एकदिन बेलुका ती सम्पादक अर्थात् उनका बिएफको नम्बरबाट फोन आयो, मेरोमा नम्बर पनि सेभ रहेनछ, पहिला उठाए, अनि ती सम्पादक बोले भन्ने थाहा पाएपछि मैले सिधैँ कुरा जोडे हेर्नुस् मलाई तपाईहरूको सम्बन्ध के हो कसो हो मतलब भएन, तर मलाई अनावश्यकमा मानसिक तनाव नदिन भन्नु म्याडमलाई मलाई असह्य भईसक्यो, सहनुको पनि हद हुन्छ ।

उनलाई मैले सिधैँ कुरा निकालेपछि सहज भएछ क्यारे अनि भने मैले हाम्रो सम्बन्धबारे थाहा छैन होला भनेको थाहा रैछ । त्यहीँ कुरा गर्न खोजेको हो, मलाई सबै थाहा छ म्याडमले पटकपटक मेरो दिमाग चाटिसक्नुभएको छ, कृपया सर सम्झाउनुहोला नभए मानहानीको मुद्धा दर्ता गराउन नपरोस् उनले पनि मेरो कुरामा सहमति जनाए । त्यही त भनेको मैले उनी बुझ्दिनन् के भएको होला किन होला ? मलाई मतलब भएन सर म मेरै दुनियाँमा ब्यस्त छु तपाईहरूको कुरा र सम्बन्धबारे चासो लिएर हिड्ने मलाई फुर्सद पनि छैन, मैले त्यसो भनिरहँदा उनकी म्याडम उताबाट कराइन्, अस्ति एउटा कार्यक्रममा भेट भएको नि ? ए बाबा कार्यक्रम त कति हुन्छन्, सञ्चारक्षेत्रमा काम गर्ने जो पनि सहभागी हुन्छन् अनि भेट भइहाल्छन्, हामी योजनाबद्ध गएको हो र भनेको, ती सम्पादकले पनि मेरो कुरामा समर्थन जनाए ।

हामीले कहिलेपनि भेटेको छैन, फोन गरेको छैन, कुरा गरेको छैन, बुझन तिमी किन यस्तो भएकी । तर, उ तिमीहरू सधैँ भेट्छौ, कफी खान्छौ भनिरहेकी थिइन्, अझ उ अनलाईन हुँदा म पनि अनलाइन हुन्छु रे भन्न थालिन् । अनि चै मलाई अत्ति नै भयो र। हेर्नुस् म्याडम कि प्रुफसहित आउनुस् होइन भने कोही व्यक्तिलाई आक्षेप नलगाउनुस् । अफिसमा अरु केटी जस्तै चुप लाग्छु सोचेको होला तपाईको घरपरिवारमा कुरा गर्न आउछु नभए म पुलिसकेस गर्छु ।

यस्तो नचाहिने आरोप लगाउने बिना प्रमाण अन्दाजको भरमा ? त्यस्तो लाग्छ भने सरलाई घरमै ढोका थुनेर राख्नुस् हामीलाई मतलब भएन तर अबदेखि मलाई कुनै पनि तरिकाबाट जोड्नुभयो भने राम्रो हुँदैन । कृपया मिलाउनुहोला सर भनेर फोन राखिदिए । त्यसको भोलिपल्ट सम्पादकले फोन गरेर तपाईलाई पर्न गएको असरप्रति माफी चाहान्छु, मैले कति सम्झाए, उ मेरो बहिनी सरहको मान्छे उमेरमा पनि धेरै सानी यस्तो किन सोचेको, होइन भने तर उ सम्झिन चाहान्न, तपाईलाई मात्रै होइन, अन्य केटी साथीप्रति पनि यस्तै आशंका गरिरहेकी छे । के गर्नु अन्यथा नलिनुहोला, तपाईलाई पर्न गएको असरप्रति उसको तर्फबाट म माफी चाहान्छु । अनि मैले पनि सर, पहिला के भयो म बिर्सिदिन्छु तर अबदेखि यस्ता कुरा मसँग आउनु भएन।

आशंका गर्नपनि सुहाउने हुनुपर्छ, यो शंकाको पनि हद पार भइसकेको छ त्यहीँ भएर सम्झाउनुहोला, तपाईहरूको सम्बन्धप्रति मलाई कहिलेपनि चिन्ता, चासो, मतलब, वास्ता केही छैन । मेरो कुरामा सहमति जनाउँदै धन्यवाद भनेर फोन राखे । अब, पनि सम्पादककी गलफ्रेन्डले यस्तै आशंका गरिन् भने छुट्टै कदम चाल्नुपर्ला भन्ने सोँचमा थिए । तर त्यसपछि कुनै कल म्यासेज आएन, अनि मलाई पनि चासो भएन ।

दुवैजना मेरो फेसबुकमा फ्रेन्ड पनि थिएनन् । एकदिन टुंक्रुङ म्यासेज आयो, मलाई जस्तै शंका गरिएकी पूर्व सहकर्मी साथीको थियो । पछि थाहा भयो उनीहरूको विवाह भएछ र त्यहीँ फोटो आएको रहेछ । बल्ल खुसीको सास फेरे अब, कहिलपनि ती शंकालु गलफ्रेन्डले म जस्तै कोही केटीमाथि पनि शंका नगर्लिन् कि लाग्यो। अनि मैले पनि ती सरको फेसबुक खोजेर कमेन्ट गरिदिए, वैवाहिक जीवन सुरु गर्नुभएको धेरै धेरै बधाई तथा सफल दाम्पत्यको शुभकामना, तर म्याडमलाई पहिलाजस्तो शंका नगर्नु भन्नु है, फेरि वैवाहिक जीवनमा पनि पहिलाजस्तै समस्या आउँला मेरो कमेन्टपछि ती सरले ब्लक गरिदिएछन्, तर मलाई भने अलिकति शान्ति मिलेको महशुस भयो ।

त्यसपछि अहिलेसम्म उनीहरूलाई भने भेटेको छैन, भेटे भने पनि सहजै बोल्छु भन्ने लाग्दैँन । आफैँले भोगेको यो कथापछि शंकाले लंका जलाउँछ भन्ने उखान यसै बनेको होइन रहेछ भन्ने लाग्यो । अनि, कथा सकिदैँ गर्दा ती शंकालु गलफ्रेन्डको अनुहार सम्झेर थोरै हाँसो लाग्यो र कथालाई बिट मारे ।

तपाईको प्रतिक्रिया !

ताजा समाचार

ताजा समाचार

ट्रेडिङ समाचार