वामदेव गौतमलाई तत्काल निलम्बन गरी कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री माधवकुमार नेपालले घुस प्रकरणमा समातिएका दरवारमार्गका प्रहरी प्रमुख वामदेव गौतमलाई तत्काल निलम्बन गरी कारबाही प्रक्रिया अघि बढाउन कडा निर्देशन दिनुभएको छ ।
घुस प्रकरणमा संलग्न प्रहरी अधिकृतहरूलाई निलम्बन गरी कानुनी कारबाही अघि बढाउन प्रधानमन्त्रीले गृहमन्त्री र प्रहरी महानिरीक्षकलाई आज विशेष निर्देशन दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार विष्णु रिजालले जानकारी दिनुभयो ।
पदीय दुरुपयोग र भ्रष्टाचार गर्ने जोकोही पनि सजायको भागिदार हुनुपर्नेमा जोड दिंदै प्रधानमन्त्री नेपालले घुस प्रकरणमा प्रत्यक्ष संलग्न तीनै प्रहरी अधिकृतको सर्न्दर्भमा व्यापक छानविन गरी प्रचलित नियम कानुनबमोजिम कारबाही गर्न आदेश दिनुभएको थियो ।
यसअघि सोही घुस प्रकरणमा समातिएका प्रहरी निरीषक गौतमका सहयोगी प्रहरी सहायक निरीक्षक कृष्णप्रसाद पौडेल र नायब निरीक्षक हेमन्त थापालाई निलम्बन गरी आवश्यक अनुसन्धान र कारबाहीका लागि प्रहरी हिरासतमा राखिएको छ ।
महानगरीय आयुक्तको कार्यालयका प्रमुखबाट सो घटनाका सर्न्दर्भमा व्यक्त र्सार्वजनिक धारणाप्रति पनि प्रधानमन्त्रीले गहिरो चासो प्रकट गर्नुभएको बताइएको छ ।
चोरीको मोटर साइकलसहित पक्राउ परेका प्रशान्त मल्ललाई छुटाउन घुस लिंदै गर्दा प्रहरी निरीक्षक गौतम, प्रहरी नायव निरीक्षक थापा र सहायक निरीक्षक पौडेल प्रहरीकै विशेष टोलीबाट यही पुस १६ गते बिहीवार रङ्गेहात समातिएका थिए ।
