गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदमा रुसका प्रतिनिधि जीवा लामिछानेको अपील
आदरणीय गैरआवासीय नेपाली साथीहरु,
हामी आगामी अक्टोबर २००९ मा सम्पन्न हुन गइरहेको चौथो गैरआवासीय नेपाली विश्वसम्मेलनको तैयारीमा जुटिसकेका छौं । सन् २००३ मा ‘नेपालीका लागि नेपाली‘ भन्ने नाराबाट सुरु भएको हाम्रो अभियानको ६ वर्षको छोटो अवधि मै थुप्रै रचनात्मक कार्यहरु सम्पन्न गर्न हामी सफल भएका छौं । यस अवधिमा संसारका विभिन्न ४८ राष्ट्रहरुमा राष्ट्रिय समन्वय परिषदहरुको संजाल निर्माण हुनुलाई हामीले सबैभन्दा ठूलो उपलव्धि ठानेका छौं । नेपाल र विदेशमा गैरआवासीय नेपाली अब एउटा स्थापित पहिचान बनेकोछ । गैरआवासीय नेपाली ऐन २०६४ र नियमावली २०६५ को प्राप्ति, नेपालमा गैरआवासीय नेपालीहरुको लगानीमा संचालित विभिन्न परियोजनाहरु, शिप र ज्ञानको हन्तान्तरणमा निरन्तर भइरहेका प्रयास, बाढीलगायत विभिन्न दैवी प्रकोप एवं परदेशमा दु:ख पाएका नेपाली दाजुभाइ दिदीबहिनीलाई राहत पुर्याउने कार्यमा विश्वभरिका नेपालीहरुले विभिन्न अवसरमा गरेको च्यारेटी अनुदान आदिले गैरआवासीय नेपाली अभियानको महत्व र आवश्यकतालाई प्रमाणित गरेकोछ । देशको चौतर्फी विकासमा गैरआवासीय नेपालीको समेत भूमिका अपरिहार्य छ भन्ने कुरा आज नेपालका सबै पक्षले अनुभूत गरेका छन् ।
विश्वभरि छरिएर रहेका करिव २५ लाख नेपालीबीच विद्यमान एकताको कारणले मात्र यी उपलव्धिहरु सम्भव भएका हुन् भन्ने मेरो मान्यता छ । यसरी हाम्रो एकता र समर्पणले आर्जेको पहिचानले हाम्रो काँधमा देश निर्माणको अभियानमा आफ्नो क्षमता अनुरुपको योगदान गर्न अझ सक्रियतापूर्वक लाग्नुपर्ने कठीन जिम्मेवारी समेत थपिएकोछ भने नेपाली डायास्पोरामापनि हाम्रो अभियानप्रतिको अपेक्षामा अभूतपूर्व बृद्धि भएकोछ । विदेशमा स्थापित हुन संघर्षरत पहिलो पुस्ताको डायास्पोरा भएकोले हाम्रा व्यक्तिगत क्षमता सीमित छन् तर गैरआवासीय नेपाली अभियानले संगठित गरेर हाम्रो सामुहिक क्षमतामा ठूलो वृद्धि भएकोछ । त्यसैले विश्वभरि छरिएर रहेका हाम्रा बौद्धिक र आर्थिक क्षमता, श्रम र शीपको कौशल एवं ग्लोबल एक्सपोजरलाई समेटेर मुलुकको बृहत्तर हितकालागि उपयोग गर्ने उद्धेश्यले सन् २००३ मा गैरआवासीय नेपाली संघको स्थापना भएको हो । यस संस्थाको पवित्र उद्धेश्यप्रति आकर्षित भएर सन् २००३ को सेप्टेम्बरमा लण्डनमा आयोजित ऐतिहासिक भेलादेखि आजपर्यन्त मैले रुसका नेपाली साथीभाइहरुको विश्वासले संघको अन्तर्राष्ट्रिय समन्वय परिषदमा रुसको प्रतिनिधित्व गर्दै विभिन्न राष्ट्रिय, क्षेत्रीय र विश्व सम्मेलनहरुमा सहभागी बन्ने अवसर पाएकोछु । यस दौरानमा धेरै मुलुकमा बसोवासरत नेपाली मित्रहरुसँग गहन अन्तरक्रिया र विचारको आदानप्रदानबाट विदेशमा रहेका नेपालीहरुका अवसर र चूनौतिबारे निकै गहिराईमा बुझ्ने प्रयास गरेकोछु ।
यस अवधिमा अन्तर्राष्ट्रिय समन्वय परिषदले मलाई गैरआवासीय नेपाली संघको कल्याणकारी परियोजनको रुपमा निर्मित देवघाट वृद्धाश्रम, बाढीपीडित राहत कोष, संघको कल्याणकारी कार्यदल (च्यारेटी टास्कफोर्स) आदिको संयोजन गर्ने जिम्मेवारी सुम्पेको थियो । यसरी आईसीसीले विश्वास गरी आफूलाई दिएको जिम्मेवारीलाई आफ्नो सामर्थ्य र क्षमताले भ्याएसम्म सफलतापूर्वक निर्वाह गर्दै आएको छु । तपाईहरु सबैमा रहेको मातृभूमिप्रतिको परोपकारी भावना र सहयोगबाट नै यी सबै कार्यहरुमा उल्लेखनीय प्रगति हासिल गर्न संभव भएको हो । विभिन्न देशमा रहेका एनसीसीहरु र आईसीसीबीचको संस्थागत सम्बन्ध सुदृढ र सौहार्दपूर्ण हुँदै गएकोले नेपाली डायास्पोराले यस्ता धेरै परियोजनाहरुमा उल्लेख्य प्रगति हासिल गर्न सक्ने कुरामा अब हामी विश्वस्त हुन सक्छौं ।
म विगत २४ वर्षेखि रुसमा सुरुमा उच्चशिक्षा र त्यसपछि आफ्नै व्यवसाय संचालन गर्दै आएको छु । यसका साथै नेपालमा पनि शिक्षा, स्वास्थ्य, बैंकिङ, संचार, जलविद्युत् उत्पादन आदि मुलुकको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका क्षेत्रमा संलग्न रहेको छु । यसका साथै विभिन्न सामाजिक संघसंस्थामा संलग्न रही आफ्नो क्षमताअनुरुप विद्यालय, पुस्तकालय, साहित्य प्रवर्धन, अस्पताल, खानेपानी, बाटो, पुल आदि परियोजनाहरुमा पनि आर्थिक सहयोग गर्दै आएको छु । यसकालागि गैरआवासीय नेपाली अभियान एउटा प्रेरणाको स्रोत बनेकोछ ।
आगामी अक्टोबर २००९ मा सम्पन्न हुने चौथो गैरआवासीय नेपाली विश्वसम्मेलनको क्रममा संघको नयाँ नेतृत्वको चयन हुने कुरा यहाँहरु सबैलाई विदितै छ । यहाँहरुबाट अहिलेसम्म मैले जुन विश्वास र समर्थन पाएको छु त्यसबाट मलाई हाम्रो अभियानमा अझ बढी समर्पित भई जिम्मेबारी लिने हौसला मिलेको छ । तसर्थ साथीहरुबाट सधैं जस्तै स्नेह र सहयोग प्राप्त गर्ने विश्वासकासाथ मैले आगामी निर्वाचनमा संघको उपाध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी दिने निर्णय गरेकोछु ।
गैरआवासीय नेपाली अभियानका प्रारम्भिक सफलताकासाथ निकै धेरै चूनौतिपनि छन् । एनआरएनले देशबाहिर बसेर देशलाई माया गर्ने बुद्धिजीवी, उद्यमी-व्यवसायी, श्रमजीवी, विद्यार्थी लगायत सबै नेपालीलाई एकबद्ध गरी दलनिरपेक्ष, धर्मनिरपेक्ष, जातीय भेदभावरहित सामाजिक संस्थाको रुपमा जुन छवि कायम गरिसकेको छ त्यसलाई अविच्छिन्न राखी संघलाई सबैको साझा संस्था बनाउन अझ प्रयास गर्नु आवश्यक छ । राष्ट्रिय समन्वय परिषदहरुको संजालमाझ अझ समन्वय स्थापित गरी सुदृढ र शसक्त संस्थाको रुपमा विकसित गराउने कामलाई निरन्तरता दिनुछ । एनआरएनएले संकल्प गरेका तर कार्यान्वित गर्न नभ्याइएका विभिन्न परियोजनालाई पुरा गर्नु पर्ने चूनौति छ । गैरआवासीय नेपाली ऐनमा परिमार्जन गरी त्यसमा छुटेका महत्वपूर्ण मुद्दाहरुलाई समावेश गर्न सरकारलाई घच्घच्याइ रहन आवश्यक छ । छोटो समयकालागि वैदेशिक रोजगारमा गएका दाजुभाइ दिदीबहिनीहरुको विविध समस्याको संस्थागत संवोधन गरी नेपालका ऐनहरुमा आवश्यक संशोधन हुनु नितान्त जरुरी छ । दोहोरो नागरिकताको प्रावधनलाई संविधानमा समावेश गर्न जुन पहल भइरहेकोछ त्यसलाई पनि मूर्तरुप दिनुछ । गैरआवासीय नेपाली संघ आफैं एउटा सबल र सक्षम संस्थाको रुपमा स्थापित हुन सकेमात्र माथि उल्लेखित चूनौतिलाई सहजतापूर्वक सामना गर्न सकिनेछ । त्यसकालागि संस्थाको आर्थिक र वैधानिक सुदृढिकरण गर्नु आवश्यक छ ।
गैरआवासीय नेपाली संघको आरम्भ देखि नै निरन्तर समर्पित भएर लाग्दा हासिल भएको अनुभवबाट मलाई भविष्यमा अझ ठूलो जिम्मेबारी लिएर काम गर्ने आत्मविश्वास बढेकोछ र माथिका चुनौतिहरुलाई सामना गर्न आफ्नोपनि केही नेतृत्वदायी भूमिका हुन सक्छ भनेर नै उपाध्यक्षको पदमा उम्मेदवारी दिने निर्णय गरेको हुँ । त्यस बाहेक संघका अध्यक्ष डा उपेन्द्र महतो, तथा देवमान हिराचन, राम थापा, भिम उदास लगायतका सबै पदाधिकारी अग्रज मित्रहरुको व्यक्तित्व, मिलनसारिता, समर्पण र संगठन संचालनको कार्यदक्षताबाट पनि मैले धेरै कुरा जान्ने र सिक्ने सुअवसर पाएकोछु ।
अन्त्यमा, संघको सफलता हामी सबैको सामुहिक प्रयास, समर्पण र सद्भावलेमात्र सम्भव छ भन्ने स्मरण गराउँदै तपाईहरुको स्नेह र समर्थनको अपेक्षा गरेकोछु ।
यहाँहरु सबैको सहयोगको अपेक्षासहित,
तपाईंहरुकै
जीवा लामिछाने
कार्यकारी सदस्य,
अन्तर्राष्ट्रिय समन्वय परिषद, गैरआवासीय नेपाली संघ
संयोजक,
एनआरएन च्यारेटी टास्क फोर्स ।
मस्को, रुस महासंघ
मिति: ५ जून २००९ ।

I will vote you. you are capable for his post. But I heared that Rameshwar Shah also nominating for the post of treasurer. I want to request all that we have to ignore him.
Jiba Daju !
I wish you to be selected in the coming Assembly of NRN in the post of Chairman.we need your more contribution in our society through NRN association .Thank you .
Hari Prasad Kadel
Padampur 7 chitwan