न्यू योर्कमा राजदूत आचार्यको स्वागत
रविकिरण कोइराला ,न्यू योर्क, अमेरिका – संयुक्त राष्ट्र संघकालागि नेपालका स्थाई प्रतिनिधि तथा महामहिम राजदूत ज्ञानचन्द्र आचार्यको स्वागतमा नेपाली जनसंपर्क समिति अमेरिका एकताको महाधिबेसन तयारी समितको आयोजनामा जनवरी ३१ का दिन एक भब्य स्वागत समारोहको आयोजना गरिएको छ। अमेरिकामा बसोबास गर्ने नेपाली काँग्रेस समर्थकहरु पहिलो चोटि संयुक्त कार्यक्रम गर्न सफल भएका छन्।
उक्त स्वागत कार्यक्रममा नेपाली जन संपर्क समिति अमेरिका एकताको महाधिबेसन तयारी समितीका संयोजक ,अधिबक्ता खगेन्द्र जिसीले महामहिम राजदूत आचार्य र नायब स्थाई प्रतिनिधि शंकर बैरागीलाई परम्परागत खादा र फुलको गुच्छाद्वारा स्वागत अभिनन्दन गर्नुभएको थियो। उक्त समारोहमा जनसंपर्क समितीका पूर्व अध्यक्ष आनन्द बिष्टले पनि उहाँहरुलाई खादाद्वारा अभिनन्दन गर्नु भएको थियो। समारोहमा महामहिम आचार्यलाई न्यू योर्कका बिभिन्न नेपाली संघ संस्थाका अगुवा प्रतिनिधिहरुले हार्दिक स्वागत गरेका थिए ।
कार्यक्रम नेपाली जनसंपर्क समिति अमेरिका एकताको महाधिबेसन तयारी समितीका संयोजक खगेन्द्र जिसीको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रमको संचालन समितीका सह-संयोजक बेदप्रसाद खरेलले गर्नु भएको थियो। कार्यक्रममा जनसंपर्क समिती न्यू योर्क च्याप्टरका पूर्व अध्यक्ष सोमनाथ घिमिरेले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो।
कार्यक्रममा नेपालका ख्यातिप्राप्त गायक ओमबिक्रम बिष्टलाई पनि स्वागत अभिनन्दन गरिएको थियो भने गायक बिष्टले नेपालीहरुको एकता र सम्रिद्धिको कामना ब्यक्त गर्नु भएको थियो।
स्वागत समारोहमा महामहिम आचार्यले बोल्दै न्यू योर्कमा आफु नेपाली समुदायले राखेको कार्यक्रममा सहभागि हुन पाउँदा अत्यन्त खुशी लागेको बताउनु हुँदै आफ्नो कार्यकालमा नेपालको दिगो शान्ती र बिकासको लागि अन्तरराष्ट्रिय समुदायसंग सहयोग र समझदारी बढाउन प्रयास गर्ने बताउँदै सबै अमेरिकि नेपालीहरु नेपालको सदभावनादूतको रुपमा अमेरिकि जनताबिच जाने माध्यम र दुई देश बिचको सम्बन्ध सुद्रिढ गर्न पहल खेल्न सक्ने भएको बताउनु भयो। उहाँले अत्यन्त अल्पबिकसित मुलुकहरुको समुह (LDCs) को नेपालले आगामी ३ बर्ष नेत्रित्व गर्ने र यसबिचमा नेपालको पक्षमा उपयोग गर्ने प्रयास गर्ने बताउनु भयो।उहाँले मिसन संयुक्त राष्ट्र संघको दायित्व रहे पनि न्यू योर्क, न्यू जर्सी र कनेक्टिक्ट राज्यका नेपालीहरुलाई सेवा पुर्याउने कर्तब्य पनि भएको जानकारी गराउनु भयो ।
