« नेपाली जनप्रगतिशील मञ्च कतारले प्रवासी नेपालीहरुका समस्या सम्बन्धी प्रधानमंत्रिलाई वुझाएको प्रतिवेदन | Main | बालिका लाई ब्लड क्यान्सर सहयोगको याचना »
हिमाल खबरपत्रिका नकावधारीले जलाए
By Kumar Karki | November 17, 2008
राजधानीका ग्राहकलाई वितरण गर्न ठिक्क पारिएको हिमाल खबरपत्रिकाको १५ सय प्रति अज्ञात नकावधारीले जलाएका छन् ।
हिमाल खबरपत्रिकाको १-१६ मंसिर अंक १५ सय प्रति अज्ञात नकाबधारीहरुले जलाएका छन् । मंसिर १ गते बेलुका पौने १० बजे राजधानीस्थित माइतीघरमा रहेको हिमाल खबरपत्रिका वितरण गर्ने ‘कष्टमर सलुशन’ मा नकाबधारीले पत्रिका जलाउनुसँगै त्यहाँबाट तीन थान मोबाईल सेट लुटेका छन् भने एउटा ल्याण्डलाईन सेट पनि ध्वस्त बनाएका छन् । राजधानीका ग्राहकलाई वितरण गर्न ठिक्क पारिएको पत्रिका जलाइएको भए पनि राजधानीको ग्राहक वितरण पहिलाजसरी नै हुने हिमाल मिडियाको वितरण शाखाले जनाएको छ ।
पत्रिका जलाउन आएको समूह दुई समूहमा थिए । मोटरसाइकल चड्दा लगाइने हेलमेट र नकाब लगाएर आएको समूहले वितरणका कर्मचारीलाई नियन्त्रण लिदै पत्रिका बाहिर निकालेर आगो लगायो भने अर्को समूहले वितरण कार्यलय वरिपरि घेराउ गरेको थियो । हिमाल मिडियाका प्रमुख कार्यकारी अधिकृत आशुतोष तिवारी चडेको हिमाल मिडियाको मोटरमा आक्रमण भएको केही दिनपछि यसरी पत्रिका जलाइनुले हिमाल खबरपत्रिकामाथिको आक्रमण योजनाबद्ध तथा सिलसिलेवार हुनसक्ने संकेत देखिएको छ।
जलाइएको अंकको हिमाल खबरपत्रिकामा विश्वमा देखिएको आर्थिक संकट र त्यसले मुलुकमा पार्नसक्ने प्रभावबारे आवरण समाचार छ भने राजनीतिक दलहरुले निर्माण र क्रियाशिल बनाएको अर्धसैनिक संरचनाको युवा दस्ताहरुबारे बिशेष रिपोर्ट छ । यसैगरी, संविधान निर्माणमा देखिएका समस्या तथा त्यसमा दलहरुको भूमिकाबारे बिशेष सामाग्री ‘संविधानसभा यात्रा’ पनि यो अंकको हिमाल खबरपत्रिकामा छ । मुलुकमा अहिले चर्चित रहेको भूमिसुधारबारे पनि यो अंकको हिमाल खबरपत्रिकामा रिपोर्ट छापिएको छ।
हिमाल खबरपत्रिकामाथि भएको यो आक्रमण प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपकै एउटा रुप भएको हिमाल मिडियाको ठहर छ । प्रारम्भीक सूचना तथा बिश्लेषणका आधारमा हिमाल खबरपत्रिकामाथि भएको यो आक्रमणको घटनामा राजनीतिक दल वा तिनका भात्रृ संगठन संलग्न रहेको/नरहेको वा कुनै अपराधिक समूहको मात्र संलग्नता रहेको भन्न सकिने स्थिति छैन । घटनाबारे निश्कर्षमा पुग्न अनुसन्धान आवश्यक भएकाले हिमाल मिडियाले मंसिर २ गते नयाँबानेश्वर प्रहरी थानामा घटनाको रिपोर्ट गरेको छ ।
‘जुनसुकै जत्थाबाट भएपनि सत्य समाचार र बिश्लेषण पस्किने हाम्रो प्रतिवद्धतामा अवरोध पुर्याउने यो घटनाको वास्तविक जानकारी हामी पाठकसमक्ष छिटै ल्याउने छौं’ हिमाल खबरपत्रिकाका कार्यकारी सम्पादक किरण नेपालल भन्छन् ।
Source: HImal Khabar
Topics: कतार |






















