• Happy Dashain 2065

  • Read News From

  •  

    August 2008
    S S M T W T F
    « Jul   Sep »
     1
    2345678
    9101112131415
    16171819202122
    23242526272829
    3031  
  • News Links

  • Online Radio

  • Association Link

  • Live Stats

  • « Women at flood-victim camps face risk of sexual harassment | Main | मलेशियामा विजया दशमी लाईफ कन्सर्ट हुने »

    झण्डै सप्तकोशीसंगै बगियो

    By Administrator | August 27, 2008

    डम्बरकृष्ण श्रेष्ठ

    २ भदौको बिहान साढे ७ बजे म चढेको टोयटाको कोरोला कार कोशीटप्पु वन्यजन्तु आरक्षतर्फजाने सुनसरी पश्चिम कुसाहाको जमुवा चोकमा स्थानीय वासिन्दाले गरेको अवरोधमा पर्‍यो । धरानबाट काठमाडौं आउदै गरेको ४ जना सवार कार ५ मिनेटको ढिलोले गर्दा सो जाममा परेको थियो । सप्तकोशी नदीले रातिदेखि नै नजिकैको बाध भत्काउन थालेकोले स्थानीय प्रहरी, प्रशासनलाई खबर गर्दा पनि सबैले वेवास्ता गरेको र हेर्न समेत नआएको भन्दै गाउँलेहरु बाटो छेक्न सडकमा निस्किएका रहेछन् । हाम्रो कार अगाडि एउटा मालबाहक ट्रक थियो । पछाडि एक पछि अर्को गाडीको लाम लाग्न थालीसकेको थियो

    डाँकाद्धारा एक सवारी चालकको हत्यापछि विरोधमा भएको ९ दिनको पूर्वाञ्चल बन्द खुलेपछि धरानबाट २ भदौको बिहान ५ बजे नै काठमाडौं हिड्ने तयारीमा हामी थियौ । अघिल्लो दिन नै गाडीकालागि पेट्रोल जोहो गरे पनि विहान धरानबाट हिडदा साढे ६ बजी सकेको थियो । गाडीमा सवार दिर्घ लिम्बू र राजेन्द्र श्रेष्ठ हङकङबाट काठमाडौंहुदै कारमा धरान आउँदा लामो बन्दमा परेका थिए । राजेन्द्र दाइ, अघिल्लो दिन भन्दै हुनुहुन्थ्यो के निहुँमा कतिखेर राजमार्ग बन्द हुन्छ टुङ्गो हुँदैन्, त्यसैले ८ बजेसम्ममा लाहान कट्नुर्पर्छ ।नभन्दै हामी धरानबाट हिडेको केहि बेरमै बन्दमा परिसकेका थियौ । बन्दको बाहाना हङकङका आएका दुवै जनाकालागि नयाँ थियो । झण्डै एक किलोमीटर उत्तर पश्चिमको सप्तकोशीको पूर्वी तटबन्ध देखाउँदै गाउँलेहरु सड्कमा मुढा तेर्स्याउँदै थिए । भर्खरै मात्र किनेको नयाँ कार भएकाले दिर्घ लिम्बूले भनसुन गरेर भएपनि कार अगाडि बढाउँने प्रयत्न गर्न चाहनुभएन् । गाडी बढाएमा तोडफोड गर्ने चेतावनी आक्रोशीत गाउँलेहरुले दिइरहेका थिए । राजमार्गबाट कोसीटप्पु वन्यजन्तु आरक्षतर्फजाने स्वागतद्धार नजिकै रहेको रुखको हाँगा काटेर र केहि युवाहरुले नजिकैको घरबाट काठका खम्बाहरु ल्याएर सडकमा तेर्स्याए । एक जना आक्रोशीत युवा भन्दै थिए हिजै साँझदेखि प्रहरी र सिडीयो सबैलाई खबर गरेका गर्‍यै छौ तर को पनि आएका छैनन् । काँध फुटनै लागेकोछ, फुट्यो भने यहाँ केहि पनि बाँकी रहदैन् ।बाँध फुट्न लागेको जानकारी गराउँदा पनि भारतिय ब्यावस्थापन पक्षले कोशी ब्यारेजको सबै ढोका नखोलेकोमा पनि उनीहरुको आक्रोश थियो ।

    पश्चिमतिरबाट आएका एक दर्जन गाडी अवरोधमा परिसकेका थिए । केहि यात्रुले बन्द खोलीदिनुपर्‍यो बाँध फुट्यो भने हामी पनि अफ्ठ्यारोमा पर्र्छौ भन्दा अर्का गाउँले युवाको जवाफ थियो गाडी बन्द भएपछि प्रहरी आउँछ, प्रहरीको गाडी कब्जा गरे पहिले जलाउँछौ अनि तपाइहरुलाई छाडीदिन्छौ ।रातभर नसुतेका गाउँलेहरु उत्तेजित र आक्रोशीत देखिन्थे । सड्कका छेउ छाउमा बाँध फुटी हालेमा सुरक्षित स्थानमा जानलाई बाल बच्चा र लत्ता-कपडाका पोकाहरु बोकेर घरबाट निस्केका गाउँलेहरु पनि प्रशस्तै थिए ।

    एकातिर बाँध फुट्नै लागेको कुरा, अर्कोतिर राजमार्ग अवरोध । धेरै पटक सप्तकोशी नदी र बाँध कटानका बारेमा रिपोर्ट गर्दै गरेकाले बाँध फुटीहाले पछिको खतराको अनुमान ममा थियो । बाँधले सुनसरीका अधिकांश गाविस मात्रै हैन, मोरङको विराटनगर जस्तो शहरलाई समेत असर पार्नसक्ने भएकाले सम्भावित खतरा बुझे र मैले इनरुवाका स्थानिय पत्रकार सुविद गुरागाइलाई टेलीफोन गरेर त्यहाँको स्थितीबारे जानकारी दिदै सुनसरीका प्रहरी उपरिक्षक यादवराज खनाल र प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीसंग कुरा गरेर किन प्रशासनले चासो नदिएको हो बुझ्न अनुरोध गरे । हामी रोकिएको करिब २५ मीनेटपछि म आफै पनि एसपी र सिडीयोको टेलिफोन नम्बर लिएर बुझ्न खोजिरहेको थिए । त्यतिबेलै अचानक बाँध भत्कियो भाग, भाग ।भन्दै मान्छेहरु दौड्न थाले । त्यो सुनेर राजमार्गमा अवरोध गरिरहेका सबै बन्द कर्ताहरु तितरवितर भए, भागदौड मच्चीयो । आईमाई केटाकेटी रुन, कराउँन, चिच्याउन थाले । पश्चिमतिरबाट आएका सवारीहरु अवरोध पन्छाउँदे पूर्वतिर हानीए । पश्चिमतिर हिडेका हामीलाई पनि पूर्वतिरै र्फकन अरुले आग्रह गरिरहेका थिए । कार स्र्टार्ट गरेर दिर्घ दाइले गाडी धरानतिरै फर्काउनलाई साइड लाइट समेत बालीसकेका थिए । मैले भने हामी पश्चिमतिरै जाउँ यहाँबाट कोशी ब्यारेज नजिकै छ, भेल आइ नपुग्दै हामी सप्तकोशी पारी पुग्छौ । बाँध फुटेर पानी जमीनमा फैलदै विस्तारै बग्ने भएकाले राजमार्गसम्म आउन समय लाग्छ, त्यसैले हामी छिटो अघि बढौ ।

    अगाडीको माल बाहक ट्रक सडकमा तेर्स्याइएको रुखका हाँगा कुल्चेर अघि बढ्यो । हामी चढेको कारपनि ट्रककै पछि लाग्यो । बाँध फुटीसकेको देखेपछि राजमार्गसंगैका सुनसरीका पश्चिम कुसाहा, श्रीपूर, हरिपूरलगायत गाविसका बासिन्दाहरु काखमा बाल-बच्चा र टाउकोमा लुगाका पोका बोकेर यत्र तत्र दौडिरहेको कारको झ्यालबाटै देखिरहेका थियौ । उनीहरु बाढीबाट बच्न सुरक्षित स्थानको खोजी गर्दै दौडिरहका थिए । त्यस्तो आक्तंकित दृष्यदेखेपछि दिर्घ दाइले कारको गति अझ बढाए । प्रति घण्टा १५० किलोमीटरको रफ्तारमा कार दौड्दा हामी कार नै दुर्घटनामा परिएला की भनेर उनलाई रफ्तार घटाउन भनिरहेका थियौ । केहि बेरमै कोशी ब्यारेज छेउ आइपुगेपछि दिर्घ दाइले बाँध फुटेपछि कोशी ब्यारेज पनि बगाउँछ भनेर छिटो बाटो काट्नलाई कार स्पिड कुदाएको बताउनुभयो । बाँध फुटेको १५ मिनेट नवित्दै हामी कोशी ब्यारेज पुग्दा त्यहाँका ढोका आधा जति मात्र खुलेका थिए ।

    कारले कोशी ब्यारेज काटेपछि हामीले सन्तोषको श्वास फेर्‍यौ भने मनभरी भर्खरै छाडेर आएका भागदौड गरिरहेका गाउँलेहरुको चिन्ता थियो । हेटौडा पुगेपछि स्थानीय एफएममा आएको समाचार सुनेर हामी झसङ्गै भयौ । रेडियोले भन्दै थियो सप्तकोशीले बाँध भत्काउँदा सुनसरीका तीन गाउँ डुबाइ सकेको, २० हजार विस्तापित भएको र राजमार्गको १५ किलोमीटर कालोपत्रे सडक पानीले ढाकेको छ ।बाटोमा दुइ ठाउँ थप बन्द छिचोलेर राती ११ बजे काठमाडौं, थानकोटमा छिर्दा हामी धरानबाट आएको भनेपछि आफुलाई मोरङतिर घर बताउँने एक प्रहरी जवानले सोधे सप्तकोशीको पुल नै बगाएको हो ? सुनसरीको कति भाग डुब्यो ? मोरङसम्म बाढी पुग्यो कि पुगेन ? कति मान्छे बगे ? उनको आधा आधी जिज्ञाशा मात्रै हामीले मेटन सक्यौ । राती कोठा पुगेर सुत्ने बेलामा टेलिभीजनमा सुनसरीको केहि गाउँ जलमग्न भइरकेहो दृष्या देखिरहेको थियो । हामी बिहान गुडेर आएको सडक सबै पानीले ढोको थियो । भोली पल्ट बिहान पत्र पत्रिका हेर्दा कान्तिपुर दैनिकको मुख्य पृष्ठमा प्रकाशित तस्वीरमा मेरो आँखा पर्‍यो । किनभने त्यो त्यहि ठाउँ थियो जहाँ हामीले अघिल्लो दिन बिहान स्थानीय गाउँलेको अवरोधको सामाना गरेका थियौ । तस्विरमा कोशीतटप्पुको प्रवेश द्धार र नजिकैका घरहरुको आधा भाग पानी भित्र थियो, हामीले छाडेको राजमार्गको कुनै नामो निशान थिएन् । मंगलबार सम्ममा त्यस क्षेत्रका ५० हजार विस्थापीत भइसकेको छन् भने राहत नपाएर स्थाजीय वासिन्दाको विचल्ली भएको छ ।

    (-श्रेष्ठ हिमाल खबरपत्रिकाका विशेष सम्वाददाता हुनुहुन्छ-सम्पादक)

    Bookmark This

    Topics: कतार |

    One Response to “झण्डै सप्तकोशीसंगै बगियो”

    1. reecha Says:
      September 2nd, 2008 at 11:24 am

      thanks god anushil you survived ,must pray to god for ur survival

    Comments