« नेपाल र भारतका कट्टर हिन्दू अतिवादी संगठनहरुले विश्वको अन्तिम हिन्दू राजतन्त्र बचाउन सशस्त्र संघर्ष गर्ने घोषणा | Main | राजिनामाको कागज तेर्स्याई दिए पछि दूूतावासमा शरण »
विदेशमा नेपाली एकता अनिवार्य आवश्यकता - अनिल पाण्डे
By Kumar Karki | April 30, 2008
अनिल पाण्डे
लोकतन्त्र अनेकताभित्रको एकता हो। जात?क्षेत्र?लिंगका आधारमा खस, जनजाति, दलित, महिला, पुरुष, पहाडे, मधेशी, हिमालीआदि विशेषणमा हामी विभक्त छौं। राजनीतिक रुपले पनि हामी विभिन्न पार्टी, दर्शन र विचारमा आस्था राख्छौं। हाम्रा शैली र क्षमता फरक हुनसक्छन्। तर हामी सबै एक सूत्रमा बाँधिएका छौं। नेपाली हुनुका नाताले हामी एक छौं। खासगरी विदेशमा हामी कुनै जात, क्षेत्र वा लिंगका आधारमा परिचित हुनुभन्दा पनि नेपालीका नाताले परिचित छौं। त्यसैले विदेशमा नेपालीबीच एकता बढी अनिवार्य आवश्यकताको विषय बन्ने गरेको छ।
अमेरिकाको क्यालिफोर्नियामा नेपालीलाई चिनाउने दर्जनौं सस्थाहरु छन्। त्यसमा पनि नर्दन क्यालिफोर्निया नेपाली संघ (न्यान्सी) ले यस क्षेत्रका सम्पूर्ण नेपालीलाई समेट्ने प्रयास गरेको छ। यस पंक्तिकारको पहलमा खोलिएको मदरल्याण्ड नेपाल पनि छ। यस संस्थाका लागि पक्तिकारले निकै मेहनत पनि गरेको छ र यसका नामबाट नेपालमै पनि स?साना केही काम भएका छन्। त्यसमा यो गौरव गर्दछ। यति हुँदाहुँदै पनि न्यान्सीको व्यापकता र प्रभावलाई मदरल्याण्ड नेपालले स्वीकार गरेको छ। मदरल्याण्ड नेपालले जस्तै दर्जनौं संस्थाहरुले न्यान्सीलाई छाता संगठनका रुपमा सम्मान गरेका छन्।
यस क्षेत्रमा रहेका नेपालीको परिचय, पहिचान र सुरक्षाका लागि न्यान्सीले जे?जति काम गरेको छ, त्यो पर्याप्त छैन। यसको प्रभावकारिता बढाउनु आवश्यक छ। यसका लागि प्रवासी बनेका हरेक नेपालीले आफ्नो स्वच्छ सिर्जना लगानी गर्नुपरेको छ। न्यान्सी कमजोर भयो भने म पनि अपमानित हुनपुग्छु भनेर आत्मसात् गर्नु आवश्यक भएको छ।
तर दुखका साथ भन्नुपर्छ, केही समययता न्यान्सीमा कार्यकारी पदको जिम्मेबारीलाई लिएर भित्रभित्रै खिचडी पाक्ने र पकाउने अभ्यास भएको बुझिएको छ। नवीन अधिकारी र उहाँको समूहलाई असहयोग गर्ने काम हुन थालेको देखिएको छ। ‘म पो अध्यक्ष हुनुपर्ने,’ भन्नेजस्ता स्वरहरु सुन्न थालिएका छन्। हुनसक्छ, अध्यक्ष अधिकारीभन्दा योग्य नेपाली अमेरिकामा निकै भित्रिसके होलान्, तर न्यान्सी अध्यक्ष अधिकारीको मात्र होइन र उनलाई सधैंका लागि अध्यक्ष बनाइएको पनि होइन भन्ने यथार्थ हामीले विर्सनु हुन्न। हामीले आफ्नो तर्फबाट न्यान्सी र अध्यक्ष अधिकारीको समूहलाई कति सहयोग गर्यौं भन्ने पक्षमा ध्यान नै नदिई अथवा आत्ममूल्यांकन नै नगरी अरुलाई मात्र हिलो छ्याप्नु बुद्धिमानी हुनसक्तैन।
हामी सबैलाई थाहा छ, नेपालमा हालैमात्र संविधानसभाको निर्वाचन सम्पन्न भएको छ। यो निर्वाचन बहुमतीय पद्धतिमा मात्र नभई समानुपातिक विधिबाट पनि भएको हो भन्ने तथ्य पनि हामी कसैबाट लुकेको छैन। समानुपातिक निर्वाचनमा समावेशी उम्मेदवारका लागि बन्दसूचीको व्यवस्था भयो र त्यसमा महिला, पुरुष, मधेसी, दलित, उत्पीडित, जाति/आदिवासी जनजाति, पिछडिएको क्षेत्र र अन्य गरी पाँच खण्डमा नेपालीलाई वर्गीकरण गरेर पूर्वनिर्धारित समानुपातिक समावेशी सिद्धान्तअनुसारको प्रतिशतमा पार्टीबाट उम्मेदवार सिफारिस गर्र्ने काम हुँदैछ। यसरी ६०१ सदस्यीय संविधानसभा गठन हुने क्रममा छ। ऐतिहासिक रुपमै विशालतम जनप्रतिनिधिको सभा गठन गरेर हामीले गर्न चाहेको काम एउटै मात्र हो? अनेकतामा एकताको खोजी। संविधानसभा नै एकताको आधार र उदाहरण बनोस् भन्ने उच्च उद्देश्यले खर्चिलो भएपनि नेपालले यो काम पूरा गरेरै छोडेको छ।
यो सन्दर्भ यहाँ उठाउनुको एक मात्र उद्देश्य हो? हामी लाखौं विविधताका बाबजुद एकसूत्रमा बाँधिने अभ्यास गरिरहेका छौं। यही नै समयको माग पनि हो। यही माग न्यान्सीका सन्दर्भमा पनि लागू हुन्छ। न्यान्सी मात्र होइन, कतै पनि गठन भएका नयाँ समिति र संगठनहरुमा नेतृत्वको कस्तो संयोजन छ भनेर खोज्ने संस्कृति सुरु पनि भैसकेको छ। यस आदर्श संस्कारको अभ्यास प्रारम्भिक बिन्दुमा भएकाले हामीबाट केही त्रुटि पनि हुनसक्छन्, तर हाम्रो उद्देश्य भने स्वच्छ हुनुपर्छ। न्यान्सीका सन्दर्भमा पनि हामीले पूर्ण लोकतान्त्रिक र समावेशी अवधारणाले विश्लेषण गर्नुपर्छ। लोकतान्त्रिक अवधारणा लिने जोसुकै व्यक्ति पनि नेतृत्वमा छ भने यस बेला हामीले चित्त बुझाउनुपर्छ। नेतृत्वमा नेपाली कांग्रेस, एमाले, माओवादी, मधेशी जनअधिकार फोरम, तमलोपा, राप्रपा वा यस्तै अन्य कुनै दल मात्र खोजेर बस्नु संकीर्णता हुनेछ। नेतृत्वमा आफ्नै दलको मानिस पुगोस् भनेर चाहना राख्नु, मेरै जातिको अध्यक्ष बनोस् भनेर कामना गर्नु अस्वाभाविक पनि होइन।
योग्य छभने लोकतान्त्रिक संस्कार बोकेको जोसुकै पनि कार्यकारी हुनुसक्छ र हुनुपनि पर्छ। तर यसका लागि धैर्यता चाहिन्छ। साधारणसभासम्म पर्खिने, उम्मेदवार हुनका लागि विधिसम्मत ढंगले सदस्यता लिएर बस्ने र प्रक्रिया पुर्याएर मनोनयन गर्ने काम नै लोकतान्त्रिक अभ्यास पनि हो। यस अभ्यासका लागि तत्पर नरहेका व्यक्तिलाई कसैले खास राजनीतिक दल वा जातिविशेषका कारणले मात्र थपक्क बोकेर लान सक्तैन। यस्तो अपेक्षा कसैले गर्छभने यो भयानक दुर्घटनाको कारण बन्नपुग्दछ।
न्यान्सीले प्रवासी नेपालीका सम्बन्धमा गर्नसक्ने कामहरु धेरै छन्। त्यसमध्ये क्यालिफोर्नियामा नेपाली कन्सुलर कार्यालय खुलाउने प्रमुख छ। जस्तो दुई साताअघि मात्र अमेरिकाका लागि नेपाली राजदूत डा. सुरेशराज चालिसे यहाँ आउनुभयो, उहाँलाई हामीले आफ्ना समस्या राख्यौं। त्यसमा न्यान्सीका अध्यक्ष अधिकारीले पनि प्रकाश पार्नुभएको थियो। ‘नेपाली भाषा, संस्कृति र राष्ट्रको समृद्धिका लागि प्रवासमा रहेका नेपालीले आफ्नो तर्फबाट सदा पूर्ण तत्परताका साथ योगदान पर्याउन आह्वान गर्दै फर्किएका राजदूत चालिसेसँग निरन्तर सम्पर्कमा रहने र ‘हाम्रा मागका सम्बन्धमा तपाईंले पनि आफ्नो तर्फबाट प्रयास गर्नेछु, भन्नुभएको थियो, त्यो के भयो‘ भनेर निरन्तर घचघच्याउने र परेको बेला सबै नेपालीलाई भेला गरेर दवाव सिर्जना गर्न नेतृत्व लिने तत्परता न्यान्सीका पदाधिकारीमा हुनैपर्छ।
नेपाल र नेपालीको उत्थान र एकताका लागि सहयोग गर्न तत्पर नेपाली मनको पहिचान गर्नसक्नुपर्छ। यस्ता मनहरुलाई अभिनन्दन गर्नुपर्छ आ?आफ्नो तर्फबाट योगदान दिएको सन्दर्भ यससम्बन्धमा मिल्ने सानो उदाहरण हो। यस उदाहरणले हामीलाइ ठूलो पाठ के सिकाएको छ भने हामी उदार मनका व्यक्ति हौं। विखण्डन र विभेद मानवीय कमजोरी हुन् तापनि त्यसलाई स्थायी भावका रुपमा स्वीकार गर्नसकिन्न। त्यसैले आशा गरौं, न्यान्सीभित्रको विवाद पनि अस्थायी हो। न्यान्सीका पदाधिकारीहरुले आकर्षक कार्यक्रम दिनसकेकै भोलिपल्ट सम्पूर्ण असन्तुष्टिहरु पटाक्षेप हुनेछन्।
Topics: समाचार |





















