« डोल्मा सर्ेपा बचाउ समिति-कतारले सहयोग रकम हस्तान्तरण | Main | पथरी युवा समाजले नयाँ वर्ष २०६५ लाई दुबईमा स्वागत »
मिर्गौला झिकेर ६ नेपाली युवकको दिल्लीमा हत्या
By Administrator | April 22, 2008
भारतको राजधानी नयाँदिल्लीमा मिर्गौला झिकेर ६ नेपाली युवकको हत्या गरिएको छ । एकजनाको लास नै फेलापरेको छ भने पाँचजनाको लास प्रहरीले राखेको भारतीय प्रहरीमा कार्यरत नेपाली केशव टमाटाले बताएका छन् । कामका लागि दिल्ली पुगेका कञ्चनपुरका लक्ष्मण धानकको शव दिल्ली प्रहरीले आफन्तलाई बुझाएको छ । २२ वषीय लक्ष्मण ९ चैतमा दिल्ली गएका थिए । उनको दिल्ली पुगेको १२औं दिन २१ चैत -३ अपि्रल) मा हत्या गरिएको हो ।
लक्ष्मणका भिनाजु केशव टमाटा पिथौरागढ प्रहरीमा कार्यरत छन् । उनैले आफ्ना सालाको लास बुझेका छन् । हत्या गरिएको तीन दिनपछि भारतको दिल्लीनजिकको गुडगावमा बेवारिसे अवस्थामा प्रहरीले उनको शव भेटेको थियो । उता सालाको शव बुझ्न गुडगाव पुगेका केशव टमाटालाई त्यहाँको प्रहरीले ६ जना नेपालीको शवको तस्बिर देखाएको थियो । ‘त्यस्ता बेवारिसे लास त यहाँ धेरै छन्, तिम्रा सालाको चिनेर लग भनेर प्रहरीले भन्यो,’ केशवले भने, ‘दुई सातामै ६ नेपाली युवकको हत्या गरिएको रहेछ ।’
केशवका अनुसार भारतीय प्रहरीले खिचेका तस्बिरहरूमा सबै नेपाली युवकको पेटको दुवै छेउ चिरिएको छ । ‘सबै लास एकै प्रकृतिका छन्,’ वादशाह थानामा राखिएका मृतक नेपाली युवकका तस्बिरको बारेमा बताउँदै उनले भने । नेपालबाट कामका लागि दिल्ली पुग्ने युवकको हत्या गरेर अंग झिक्ने गरिएकोसमेत उनले बताए । घटनास्थलमा भारतीय प्रहरीले खिचेको शवको तस्बिरको आधारमा टमाटाले आफ्नो साला लक्ष्मणको लास चिनेका थिए । मृतकको पेट दुवै छेउमा चिरिएको छ । ‘पेटको दुवै छेउ काटेको थियो,’ गुडगाव प्रहरीसँग रहेेको पोस्टमार्टर्म रिपोर्ट उद्धृत गर्दै टमाटाले भने, ‘शरीरका अंग निकालिएको छ ।’
लक्ष्मणको शव भेटिएलगत्तै दिल्ली प्रहरीले नेपाली युवक रमेश भट्टलाई प्रक्राउ गरेको थियो । मृतकको खल्तीमा भेटिएको टेलिफोन नम्बरका आधारमा रमेशलाई फोन गरेर वादशाह थानाका प्रहरीले २५ चैत -७ अपि्रल) मा रमेशलाई पक्राउ गरेको हो । रमेश मिर्गौला चोर्ने गिरोहसँग मिलेको लक्ष्मणका आफन्तको आरोप छ । मिर्गौला चोर्ने गिरोहसँग मिलेको आरोपमा रमेशलाई दिल्ली प्रहरीले पक्राउ पनि गरेको थियो । तर, उनलाई एक रात राखेर २६ चैत -८ अपि्रल) मा छोडिएको थियो । आफू निर्दोष भएकोले प्रहरीले छाडेको रमेशको भनाइ छ । तर, पैसा खाएर भारतीय प्रहरीले छोडेको मृतकका भिनाजु केशवले दाबी गरेका छन् ।
साला मारिएको विषयमा रमेशलाई दिल्ली प्रहरीले पक्राउ गरेको थाहा पाएपछि केशवले दिल्ली प्रहरीमा फोन गरेर आरोपीलाई नछोड्न आग्रह गरेका थिए । तर, उनी पिथौरागढबाट दिल्ली नपुग्दै रमेश छुटेका थिए । मिर्गौला तस्करहरूले पैसा खुवाएर रमेशलाई छुटाएको केशवको आरोप छ । ‘फोन गर्दा छोड्दैनौं भनेको थियो । म त्यहाँ नपुग्दै पैसा खाएर छोडिदियो,’ थानामा गएर अन्य प्रहरीहरूलाई बुभ\mदा पैसा खाएर छोडेको जानकारी पाएको बताउँदै उनले भने, ‘रमेश त दलाल मात्रै हो, गिरोह नै लागेको थियो । पैसा खाएर प्रहरीले छोडिदियो ।’ रमेश र लक्ष्मण सँगै बस्दै आएका थिए । ‘२१ चैतमा ट्वाइलेट जान्छु भनेर राति १० बजे कोठाबाट निस्केको थियो । त्यसपछि बेपत्ता थियो,’ नेपाल आइसकेका रमेशले नयाँ पत्रिकासित भने ।
तर, लक्ष्मण रमेशकै पछि लागेर १२ दिनअघि मात्र दिल्ली पुगेका थिए । नयाँ ठाउँमा उनी एक्लै बजार निस्किए भनेर पत्याउनै नसकिने उनका आफन्तहरू बताउँछन् । रमेश लक्ष्मणका छिमेकी हुन् । राम्रो नोकरीमा लगाइदिन्छु भनेर लक्ष्मणलाई रमेशले लगेको उनका दाजु नरेश धानुकले बताए । रमेशले गरेको खबरका आधारमा नै मृतकका परिवारले जानकारी पाएको थियो । २३ चैतमै रमेशले गुडगावबाट फोन गरेर लक्ष्मणको दुर्घटनामा परी मृत्यु भएको खबर घरमा दिएको मृतकका दाजु नरेशले बताए । उनले खबर गरेकै आधारमा मृतकका परिवारका सदस्य गुडगाव गएका थिए ।
मृतकका परिवारले दिएको उजुरीका आधारमा कञ्चनपुर प्रहरीले ४ वैशाखमा रमेशलाई पक्राउ गरेको थियो । कुनै प्रमाण नभएको भन्दै ५ गते रमेश छुटेका छन् । रमेश छुटेपछि उनीपछाडिको गिरोह पनि उम्कने भयो भन्दै मृतकका आफन्त चिन्तित छन् । मृतकका बुबा महावीर धानक अहिले काजकिरियामा बसेका छन् । लक्ष्मणको हत्या गरिएको १२ दिनपछि उनका बुबा किरियामा बसेका हुन् । लक्ष्मणले महेन्द्रनगरकै वैजनाथ उमाविबाट १२ कक्षा पास गरेका थिए ।
Source: Naya Patrika





















